नेपालले अब चिनियाँ बजारतर्फ भैंसीको मासु निर्यात गर्ने ऐतिहासिक योजनाको तयारी अन्तिम चरणमा पुर्याएको छ। हिमालयन फुड इन्टरनेसनल प्रालि र चिनियाँ साझेदार कम्पनीहरूको संयुक्त लगानीमा सञ्चालन हुने यस परियोजनाअन्तर्गत आगामी अर्को वर्षको जुन महिनादेखि दैनिक ५,००० मेट्रिक टन भैंसीको मासु निर्यात गरिने औपचारिक घोषणा गरिएको छ।
कुल २७ अर्ब रुपैयाँ बराबरको लगानीमा स्थापना गरिने आधुनिक प्रसंस्करण केन्द्रमार्फत मासुलाई वैज्ञानिक ढंगले प्रशोधन, प्याकेजिङ र गुणस्तर प्रमाणीकरण गरी चीनको विशाल बजारमा पठाइनेछ। यो योजना सफल भएमा नेपालको कृषि तथा पशुपालन क्षेत्रको व्यावसायिक रुपान्तरणमा ऐतिहासिक फड्को मानिने विश्वास व्यक्त गरिएको छ।
सरकारी निकाय र निजी क्षेत्रका विज्ञहरूका अनुसार यो निर्यातले कृषकहरूलाई दीर्घकालीन आम्दानीको सुनिश्चितता, पशुपालनमा आधुनिक प्रविधिको प्रयोग र रोजगारी सिर्जना गर्न उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, अन्तर्राष्ट्रिय व्यापारमा नेपालको साख र प्रतिस्पर्धात्मक क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।