ईरानमा फसेका सात नेपाली नयाँ दिल्लीमा सुरक्षित ल्याइए

ईरानको मशहद शहरमा अलपत्र परेका थप सात जना नेपाली नागरिकलाई उद्दार गरी भारतको नयाँ दिल्ली पुर्‍याइएको छ। यी नेपालीहरूलाई त्यहाँको नियामक प्रक्रिया अनुसार ‘एक्जिट पर्मिट’ (निर्गमन अनुमति) नपाएको कारण लामो समयदेखि फर्किन समस्या भइरहेको थियो।

उनीहरूको उद्दार कार्य भारत सरकारको सहायतामा सम्पन्न भएको हो। भारतीय दूतावासले आवश्यक प्रशासनिक समन्वय गरी उनीहरूलाई सुरक्षित रूपमा दिल्ली ल्याएको हो।

यसअघि पनि केही नेपालीहरू ईरानको विभिन्न सहरबाट उद्दार भइसकेका छन्। पछिल्लो समयमा रोजगारीको सिलसिलामा ईरान गएका नेपालीहरू विभिन्न कारणले अलपत्र परिरहेका छन्। सरकारले ईरानमा रहेका बाँकी नेपालीहरूको पनि उद्दार प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ।

परराष्ट्र मन्त्रालयले यस घटनाप्रति चासो व्यक्त गर्दै सबै नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित कानुनी प्रक्रिया पुरा गर्न र आधिकारिक माध्यमबाट मात्र विदेश जान आग्रह गरेको छ।