काठमाडौंको घण्टाघर स्तम्भमा नयाँ घडी राखिने भएको छ । ०७२ को भूकम्पले क्षति गरेपछि बन्द भएका चारवटा घडी हटाएर आधुनिक घडी राखिन लागिएको सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना उपनिर्देशक अविनाश श्रीवास्तवले बताए । ‘म्यानुअल घडी हटाएर अटोमेटिक चल्ने घडी राख्छौँ । अब दम दिइरहनुपर्दैन । तर, घडीको आकार र डिजाइन यसअघिको घडीकै हुन्छ,’ उनले भने, ‘भारतबाट ल्याइने चारवटा घडीको मूल्य ५० लाख अनुमान गरेका छौँ ।’ हाल घण्टाघर स्तम्भको चारै भागमा रहेका चारवटा परम्परागत (दम दिनुपर्ने) घडीका सुईमा खिया लागेका छन् । विसं १९१८ राखिएका घडीमा त्रिचन्द्र क्याम्पसका कर्मचारी तथा घडीका मिस्त्री गणेश सापकोटाले ३६ वर्षसम्म दम दिएका थिए । सातामा दुईपटक दम दिनुपर्दथ्यो । तर, ०७२ को भूकम्पले भवन र घडी स्तम्भमा क्षति पुगेपछि दम दिन छाडिएको सापकोटाले बताए ।