सरकारले गत सेप्टेम्बरमा सुशासन र पारदर्शिताको माग गर्दै भएका Gen Z आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूलाई सहिदको सम्मान दिने निर्णय गरेको हो। सरकारका अनुसार सहिद घोषणा भएका परिवारहरूलाई क्षतिपूर्ति, रोजगारीका अवसर र अन्य राहत कार्यक्रममार्फत सहयोग गरिनेछ।
जेन जेड आन्दोलन देशव्यापी रुपमा फैलिएको विरोध आन्दोलन थियो, जसमा युवाहरूले सरकारी भ्रष्ट्राचार, बेरोजगारी, र राजनीतिक अस्थिरताको विरोध गर्दै सडकमा उत्रिएका थिए। आन्दोलनका क्रममा प्रहरीसँगको झडप र बल प्रयोगका कारण केही व्यक्तिहरूको मृत्यु भएको थियो।
सरकारको यस निर्णयलाई पीडित परिवारहरूले स्वागत गरेका छन्, तर उनीहरूले दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि माग गरेका छन्। सामाजिक सञ्जालमा धेरैले यो कदमलाई सकारात्मक सुरुवात भन्दै, “सहिदहरूको न्याय अझै बाँकी छ” भन्ने टिप्पणी गरेका छन्।