सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सूचना प्रविधि (आईटी) लाई आर्थिक वृद्धिको प्रमुख इन्जिनका रूपमा उपयोग गर्न सकिने भन्दै यसले युवाहरूमाझ नयाँ अवसरहरू खोल्ने उल्लेख गर्नुभयो।
मन्त्री गुरुङका अनुसार नवप्रवर्तन, डिजिटल सेवा र प्रविधि–आधारित उद्योगलाई प्रवर्द्धन गर्ने हो भने नेपालले आन्तरिक उत्पादन वृद्धि गर्न सक्नेछ र रोजगारी सिर्जना पनि गर्न सकिनेछ।
उहाँले भन्नुभयो, “सूचना प्रविधि केवल कम्प्युटर वा मोबाइलसम्म सीमित छैन, यो हाम्रो भविष्यको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि र सेवा क्षेत्रसम्म जोडिने मेरुदण्ड हो।”
नेपालका युवाहरूलाई प्रविधि उद्यमशीलतामा आकर्षित गर्न सरकारले विभिन्न योजना अघि सारेको मन्त्री गुरुङले जानकारी दिनुभयो। आईटी पार्कहरूको विस्तार, डिजिटल स्टार्टअपमा लगानी, र ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँचलाई प्राथमिकतामा राखिएको छ।
विशेषगरी अन्तर्राष्ट्रिय बजारमा काम गर्ने क्षमता बोकेका नेपाली युवाहरूलाई आऊटसोर्सिङ, सफ्टवेयर विकास, एप निर्माण, साइबर सुरक्षा, ई–कमर्स र ब्लकचेन प्रविधि जस्ता क्षेत्रमा अवसरहरू बढ्दै गएको उहाँको भनाइ छ।
उहाँले थप गर्नुभयो, “आजको पुस्ताले प्रविधि सिक्यो भने, उनीहरूले केवल देशमै होइन, विश्व बजारमै प्रतिस्पर्धा गर्न सक्छन्। त्यसैले प्रविधिमा सीप विकास, अनुसन्धान र नवप्रवर्तनलाई निरन्तर प्रोत्साहन दिनुपर्छ।”
यससँगै सरकारलाई आईटीलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्ने माग समेत गरिएको छ, जसले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।