त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी ५ चैतमा गर्ने सहमति भएको छ ।
त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन १५ फागुनमा गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहनुभएका डा. परिषद्का सदस्य सचिव पशुपति अधिकारीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।
‘वर्तमान कार्यसमितिको २ वर्षको कार्यकाल राखिएको छ, आगामी ५ चैतमा ठीक २ वर्ष पुग्छ,’ उनले भने, ‘कानुनी जलिटता नआओस् भनेर अघिल्लोपटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ ।’
यसअघि ५ चैन २०७९ मा स्ववियु निर्वाचन भएको थियो । प्रत्येक २–२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रूपमा हुन सकेको थिएन । ६ चैत २०६५ मा भएको स्ववियु निर्वाचन एकैपटक १५ चैत २०७३ मा भएको थियो । त्यसपछि ५ चैत २०७९ मा केही क्याम्पसबाहेक देशैभरि निर्वाचन सम्पन्न भएको थियो । त्यतिबेला नौवटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।