परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान नगई सिधै चीन भ्रमणमा जाने भएकी छन्।
स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेकी मन्त्री राणा जापान नगई सिधै २८ नोभेम्बर (१३ मंसिर) मा चीन जाने भएकी हुन्।यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने कार्यतालिक थियो।
‘उहाँ स्वास्थ्य परीक्षणका लागि जापान जाने कार्यक्रम थियो।’ मन्त्री राणाका प्रेस संयोजक एकराज पाठकले नेपालखबरसँग भने, ‘तर, चिकित्सकको समय उपलब्ध नभएकाले उहाँ त्यसतर्फ नजाने हुनुभयो।’
काठमाडौँबाट आज जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यक्रम थियो। बेइजिङ पुगेलगत्तै चिनियाँ समकक्षी वाङ यीसँग त्यसैदिन द्विपक्षीय भेटवार्ता पनि तय भइसकेको थियो।
जापान नजाने भएपनि मन्त्री राणा चीन भ्रमणमा भने जानेछिन्। पाठकका अनुसार, अब मन्त्री राणाको बेइजिङ प्रस्थान गर्ने कार्यक्रम १३ मंसिरका लागि तय भएको छ।‘द्विपक्षीय भ्रमणका लागि उहाँ १३ मंसिरमा बेइजिङ प्रस्थान गर्नुहुनेछ,’ पाठकले भने, ‘१४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङसँग हुने भेटवार्ताको कार्यक्रम यथावत छ।’
यसअघि निर्धारित मितिभन्दा एक दिनअघि बेइजिङ पुग्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणमा मन्त्री राणा उतैबाट सामेल हुने वा काठमाडौँबाट सामेल हुने भन्ने टुङ्गो अझै लागेको छैन।
चीनले प्रधानमन्त्री ओलीको भ्रमणका लागि १७–२१ मंसिरको मिति प्रस्ताव गरेको छ। सुरुवातमा प्रस्तावित मितिमा केही हेरफेर गर्ने पक्षमा रहे पनि पछिल्लो समय प्रधानमन्त्री ओली पनि सोही मितिमै चीन जाने तयारीमा छन्।
यसैअनुरुप नेपाल र चीन दुवै मुलुकले भ्रमणको तयारी सुरु गरे पनि भ्रमणको औपचारिक मिति घोषणा भने अझै भएको छैन। त्यही कारण मन्त्री डा.राणा उतैबाट भ्रमण दलमा सामेल हुने वा फेरि काठमाडौँ फर्केर जाने भन्ने तय नभएको हो।