चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ले चिनियाँ राष्ट्रपति शी जिनपिंग सँगको भेटमा भारत–चीनबीचको लिपुलेख मार्ग प्रयोग गरी व्यापार गर्ने सम्झौताप्रति कडा आपत्ति जनाउनुभएको छ।
ओलीले नेपालले जारी गरेको नयाँ संवैधानिक नक्सामा लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूभाग भइसकेको भन्दै, महाकाली नदीको पूर्वतर्फ पर्ने सम्पूर्ण भू–भाग नेपालकै हो भन्ने प्रष्ट पार्नुभयो। उहाँका अनुसार, सुगौली सन्धि १८१६ को आधारमा यी क्षेत्र नेपालकै भूभागमा पर्छन् र यसलाई कुनै पनि मुलुकले अवहेलना गर्न नसक्ने उल्लेख गर्नुभयो।
भेटवार्तामा प्रधानमन्त्री ओलीले चीनलाई नेपालप्रति सहानुभूति देखाउन र नेपालको सार्वभौमिकतामा सम्मानजनक भूमिका खेल्न आग्रह गर्नुभयो। चीनका राष्ट्रपति जिनपिंगले भने प्रत्यक्ष प्रतिक्रिया नदिई, यो विवाद भारत र नेपालबीचको विषय भएको संकेत गर्नुभयो।
यस घटनाले नेपाल–भारत–चीनबीचको त्रिपक्षीय सम्बन्धमा पुनः लिपुलेख विवादलाई प्रमुख एजेन्डा बनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री ओलीको यो कदम नेपालले आफ्नो भू–अधिकार र सार्वभौमिकताप्रतिको दृढता स्पष्ट पार्ने महत्त्वपूर्ण पहल हो।