इरानको जेलमा थुनामा परेका पाँच जना नेपाली नागरिकहरूलाई रिहा गराएर सुरक्षित रूपमा स्वदेश फिर्ता गराइएको छ। परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को निरन्तर पहल र कूटनीतिक प्रयासपछि उनीहरूलाई इरानको जेलबाट छुटाइ काठमाडौं फर्काइने व्यवस्था मिलाइएको हो।
उनीहरू जुलाई २५ तारिखको साँझ काठमाडौं अवतरण गरेका हुन्। लामो समयदेखि कानुनी प्रक्रिया र दूतावासमार्फत प्रयास गर्दै आइरहेका परराष्ट्र मन्त्रालयले यो सफलता हासिल गरेको हो।
स्वदेश फर्केका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा IOM तथा सम्बन्धित निकायहरूका प्रतिनिधिहरूले स्वागत गरेका थिए। उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकीय सहायता समेत प्रदान गरिएको जनाइएको छ।
विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने कार्यमा संलग्न सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्य र तत्परताले फेरि एकपटक सकारात्मक परिणाम दिएको यो घटनाले देखाएको छ।