सउल, दक्षिण कोरिया — दक्षिण कोरियामा लगातारको भीषण वर्षापछिको पहिरो र बाढीका कारण अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ भने १२ जना अझै बेपत्ता छन्। चार दिनदेखि निरन्तर परेको वर्षाले देशभरमा जनजीवन अस्तव्यस्त भएको छ।
कोरियाको गाप्योङ क्षेत्रमा पहिरोले घर पुरिँदा दुईजनाको ज्यान गएको र दुई जना अझै बेपत्ता भएको पुष्टि भएको छ। यस्तै सान्चेओङ र ग्वाङ्जु क्षेत्रमा पहिरो तथा घर भत्किएर कम्तीमा ८ जनाको मृत्यु भएको छ। केही स्थानमा ८०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
सरकारी तथ्यांक अनुसार हालसम्म ३,८४० जना मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ, र वर्षाका कारण ७,००० भन्दा बढी मानिसहरू घरविहीन भएका छन्। बाढी तथा पहिरोले सडक, भवन, कृषि क्षेत्र, र विधुत आपूर्तिमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण दर्जनौं घरहरूमा विधुत आपूर्ति बन्द गरिएको छ र सडक यातायात अवरुद्ध भएको छ। उद्धार टोलीहरू अझै पनि बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका छन्।
मौसम विभागका अनुसार भारी वर्षा शनिबार रातिसम्म शान्त हुने अनुमान गरिएको छ, तर त्यसपछिको गर्मीको लहर (हीट वेभ) ले थप समस्या ल्याउन सक्ने चेतावनी दिइएको छ।
सरकारले नागरिकहरूलाई सतर्क रहन र उच्च जोखिम भएका क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।