नेपाल सरकारको तर्फबाट १४ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल हाल इजरायलमा छ, जहाँ उनीहरूले जुलाई १२ देखि १८ सम्म चल्ने “म्युनी एक्स्पो २०२५” मा सहभागिता जनाइरहेका छन्। यो अन्तर्राष्ट्रिय सम्मेलन स्मार्ट सहर व्यवस्थापन, डिजिटल पूर्वाधार, नवप्रवर्तन, तथा दिगो विकाससँग सम्बन्धित अत्याधुनिक प्रविधिहरूको आदानप्रदान तथा सहकार्य प्रवर्द्धन गर्न आयोजित गरिएको हो।
प्रतिनिधिमण्डलमा स्थानीय तह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीहरू, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरू समावेश छन्। उनीहरूले शहरी योजना, डिजिटल गभर्नेन्स, फोहोरमैला व्यवस्थापन, ऊर्जा दक्षता, यातायात प्रविधि तथा नागरिक सेवा प्रवाहमा आधुनिक प्रविधिको उपयोगसम्बन्धी अनुभव प्राप्त गर्नेछन्।
नेपालले पछिल्ला वर्षहरूमा शहरीकरणको तीव्र गति सामना गरिरहेकाले, यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर नवीन अभ्यास र प्रविधि भित्र्याउनु अति आवश्यक भएको सरोकारवालाहरू बताउँछन्। यस सम्मेलनबाट नेपालमा स्मार्ट सहर अवधारणाको कार्यान्वयनमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।