नेपाल भ्रमणमा पहिलो पटक नयाँजील्याण्डका उपप्रधानमन्त्री – द्विपक्षीय सम्बन्धमा ऐतिहासिक कदम

नयाँजील्याण्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्री विन्स्टन पिटर्स यही मे २८ तारिखमा काठमाडौं आगमन हुने कार्यक्रम रहेको छ। यो भ्रमणलाई नयाँजील्याण्ड सरकारको पहिलो औपचारिक उच्चस्तरीय भ्रमणका रूपमा लिइएको छ, जसले नेपाल–नयाँजील्याण्ड सम्बन्धमा ऐतिहासिक मोड ल्याउने विश्वास गरिएको छ।

पिटर्सको नेपाल भ्रमणको क्रममा उनी नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरूसँग विभिन्न द्विपक्षीय बैठकहरूमा सहभागी हुनेछन्। ती बैठकहरूमा व्यापार, शिक्षा, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धन, आपसी सहयोग र कूटनीतिक सम्बन्धको सुदृढीकरण जस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र नयाँजील्याण्डबीच सधैं मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भए पनि औपचारिक उच्चस्तरीय भ्रमणको अभाव रहेको थियो। यो भ्रमणले दुई देशबीच कूटनीतिक, आर्थिक, र सामाजिक सम्बन्धहरूलाई अझ गहिरो बनाउने सम्भावना बोकेको छ।

नेपालको हिमाली क्षेत्र र नयाँजील्याण्डको पर्वतीय भूगोलबीच रहेको समानताले जलवायु संकट, प्राकृतिक स्रोतको संरक्षण, तथा पर्वतीय पर्यटनमा आपसी सिकाइ र सहयोगको नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।

यस भ्रमणलाई नेपाल सरकारले उच्च सम्मानका साथ स्वागत गर्ने तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार, पिटर्सले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

यो भ्रमणले दुई देशबीचको विश्वासको वातावरण सुदृढ पार्नुका साथै भविष्यमा विभिन्न क्षेत्रका द्विपक्षीय सम्झौताहरूको आधार तयार गर्ने अपेक्षागरिएको छ।