काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आजदेखि हल्का पानी पर्ने भएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम बदली भई देशका विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौंमा दिउँसो हल्का पानी पर्ने सम्भावना छ । आज कोशीसहित बागमती, गण्डकी र लुम्बिनीको पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
पानी परेमा वायु प्रदूषण पनि कम हुने अपेक्षा गरिएको छ । अहिले काठमाडौंमा उच्च प्रदूषण छ । विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यु एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाडौंको एक्युआई २४५ (यो समाचार तयार पार्दा) छ ।
एक्युआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।