अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका देशहरूमा लगाइएका करको सूची सार्वजनिक गरेका छन् । राष्ट्रपति ट्रम्पको कार्यालयले आफ्नो एक्स (ट्विटर) ह्यान्डलबाट विश्वभरका देशहरूमा लगाइएका करको सूची सार्वजनिक गरेको हो ।
ट्रम्पको यो ट्यारिफलाई ‘डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफ’ नाम दिइएको छ । ह्वाइट हाउसले ‘डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफ’ लगाएका करिब १०० देशको सूची सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
यसअन्तर्गत ती देशहरूले अमेरिकामा लगाएको कर ती देशहरूले लगाएको करको आधा वा झन्डै आधा बराबर हुन्छ । करको घोषणा गर्दै अमेरिकी राष्ट्रपतिले भने, ‘आज त्यो मुक्ति दिवस हो जसको लागि अमेरिका लामो समयदेखि पर्खिरहेको थियो । ‘आजको दिन अमेरिकी उद्योगको पुनर्जन्म र अमेरिका फेरि समृद्ध हुँदै गएको दिनलाई सम्झिनेछ ।’
अमेरिकी समयअनुसार आज राति १२: बजेबाट लागू हुनेगरी विदेशमा उत्पादन हुने सबै अटोमोबाइलमा २५ प्रतिशतको महसुल लगाइएको छ ।
यसबाहेक सबै देशमा १० प्रतिशतको आधारभूत महशुल लागू हुनेछ ।
ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाएका छन् ।घोषणामा चीनमा ३४ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बंगलादेशमा ३७ प्रतिशत, म्यानमार र श्रीलंकामा ४४ प्रतिशत कर लगाइएको छ । ट्रम्पले ईयूमा २० प्रतिशत ट्यारिफ लगाएका छन् ।
यसअघि गत फेब्रुअरी ४ मा अमेरिकाले चीनबाट आउने सामानमा १० प्रतिशत कर लगाएको थियो । जुन मार्च ४ मा बढेर २० प्रतिशत पुगेको थियो ।
यसैबीच अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा मार्च ४ देखि २५ प्रतिशत भन्सार लगाएको छ भने क्यानडाबाट आयात हुने ऊर्जामा १० प्रतिशत भन्सार लगाउने भएको छ ।
ट्रम्पको ‘डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफ’ ले विश्वभर आर्थिक उथलपुथल निम्त्याउने अपेक्षा गरिएको छ । महसुल घोषणापछि एसिया प्यासिफिक देशको शेयर बजारमा गिरावट आएको छ । जापानको शेयर बजार चार प्रतिशतले घटेको छ भने अष्ट्रेलियाको शेयर बजार दुई प्रतिशतले घटेको छ । अर्कोतर्फ ट्रम्पले लगाएको करको प्रभाव सुनको मूल्यमा पनि देखिएको छ । सुनको भाउले कीर्तिमानी उचाइमा पुगेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेपछि धेरै देशका नेताहरुले प्रतिक्रिया दिएका छन् । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले भने, ‘हामी बढ्दो व्यापारमा बाधा पुर्याउन चाहँदैनौं । हामी व्यापार युद्ध चाहँदैनौं । हामी अमेरिकासँग व्यापार र सहयोगको बाटोमा फर्कन चाहन्छौं, ताकि दुवै देशका जनताले राम्रो जीवन बिताउन सकून्।’
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान दुक सुले विश्वव्यापी व्यापार युद्धको वास्तविकतालाई स्वीकार गर्दै यस व्यापार संकटसँग जुध्न सरकारले आफ्नो सबै क्षमता प्रयोग गर्नुपर्ने बताए । कोलम्बियाका विदेश मन्त्री लौरा साराबियाले देशका उद्योग र निर्यातकर्तालाई जोगाउन यसतर्फ हेरिरहेको बताए ।
ब्राजिल सरकारले अमेरिकाले लगाएको करको बारेमा एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उसले वैध राष्ट्रिय हितको रक्षा गर्न विश्व व्यापार संगठनको सहारासहित द्विपक्षीय व्यापारमा पारस्परिकता सुनिश्चित गर्न सबै सम्भावित कदमहरूको मूल्याङ्कन गरिरहेको जनाएको छ । अमेरिकाले दक्षिण कोरियामा २५ प्रतिशत र कोलम्बिया र ब्राजिलमा १० प्रतिशत कर लगाएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भन्सार शुल्कहरू ‘अप्रत्याशित नभएको’ तर ती ‘पूर्ण रूपमा अनुचित’ भएको बताएका छन् ।