देशैभरिको मौसम बदली, दिउँसो यी प्रदेशमा वर्षा र हिमपात हुने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।

दिउँसो सातै प्रदेशमा बदली हुने महाशाखाको पूर्वानुमान छ । त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र बागमतीकै हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने पनि सम्भावना रहको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । आइतबार राति पनि देशैभरि आंशिक बदली हुने पूर्वानुमान छ । रातिको समयमा भने वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।