काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, सतर्क रहन आग्रह

काठमाडौं उपत्यकासहित कोशी प्रदेशको पूर्वी भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व आसम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

विभागका अनुसार अहिले बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ।