एसिसी इमर्जिङ कप: उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौँ – भारत र पाकिस्तानबीच एसिसी इमर्जिङ कपको उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुँदैछ।

दुवै देशका ‘ए’ टिमबीच खेल दिउँसो २:१५ मा सुरु हुनेछ। प्रतियोगितामा भारत एक खेल पनि नहारी फाइनल प्रवेश गर्दा पाकिस्तान भने समूह चरणमा भारतसँग पराजित भएको थियो।

भारतले समूह चरणमा नेपाल, युएई र पाकिस्तानलाई पराजित गरेको थियो। सेमिफाइनलमा भारतले बंगलादेशलाई हराएको थियो। प्रतियोगितामा भारतका कप्तान यश धुल टप स्कोरर हुन्।

उनले ४ खेलमा १९५ को औषतमा १९५ रन बनाए। उनी बाहेक ओपनर साइ सुदर्शनले ४ खेलमा एक शतकसहित एक अर्धशतक बनाएका छन्।

पाकिस्तान समूहबाट नेपाल र युएईलाई हराएर समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा पाकिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलमा स्थान बनायो।

पाकिस्तानी कप्तान मोहम्मद हारिसले २ अर्धशतकसहित १३० रन बनाएका छन्। तर बलिङतर्फ पाकिस्तान कमजोर रहँदा त्यसको फाइदा भारतले उठाउन सक्ने छ। उसका कुनैपनि बलर सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष १० मा छैनन्।

इमर्जिङकपको उपाधि भारत र पाकिस्तानले १-१ पटक जितेका छन्। सूर्यकुमार यादवको कप्तानीमा भारतले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो।

भारतले पाकिस्तानलाई नै फाइनलमा हराएर उपाधि जितेको थियो। त्यसपछि २०१७ र २०१८ मा श्रीलंकाले पाकिस्तान र भारतलाई हराएर उपाधि उचालेको थियो।

२०१९ मा पाकिस्तान बंगलादेशलाई हराएर च्याम्पियन बनेको थियो। २०१९ पछि पहिलो पटक प्रतियोगिता आयोजना भएको हो। आज उपाधि जित्ने टिमले दोस्रो पटक उपाधि उचाल्ने छ।