पर्यटन बोर्डले दूतावासहरूलाई ट्राभल एड्भाइजरी खुकुलो बनाउन आग्रह

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी नागरिकका लागि विभिन्न देशले जारी गरेका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाउन आग्रह गरेको छ।

दशैँको अवसरमा काठमाडौँमा आयोजित ‘मिट एन्ड ग्रिट विथ डिप्लोम्याटिक कोर्स’ कार्यक्रममा बोर्डका सिइओ दीपकराज जोशीले नेपाल सामान्य अवस्थामा फर्किएको र पर्यटकका लागि पूर्ण सुरक्षित गन्तव्य भएको स्पष्ट पारे।

गत भदौ २४ र २५ गते भएको ‘जेनजी आन्दोलन’ पछि धेरै दूतावासहरूले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सतर्क रहन सल्लाह दिएका थिए। तर, विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा १५ भन्दा बढी देशका राजदूत तथा सरकारी अधिकारीहरूको उपस्थितिमा जोशीले नेपालमा राजनीतिक स्थायित्व कायम भइसकेको र सुरक्षासम्बन्धी कुनै समस्या नरहेको बताए।

उनका अनुसार, सुरक्षा निकाय, पर्यटक प्रहरी, सडक, विमानस्थल र यातायात सेवा सामान्य अवस्थामा फर्किसकेका छन्। साथै, स्वास्थ्य सेवा र अस्पतालहरूको पहुँच पनि सहज बनेको छ, जसले गर्दा नेपाल पुनः सुरक्षित र आकर्षक पर्यटन गन्तव्यको रुपमा उभिएको छ।