धादिङको बेनीघाट रोरणमा गएको सुख्खा पहिरोका कारण सोमबार रातिदेखि अबरुद्ध भएको पृथ्वी राजमार्ग मंगलबार साँझदेखि दुईतर्फी सवारी आवागमनका लागि खुलाइएको छ।
सोमबार राति ठूलो परिमाणको ढुंगामाटो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अबरुद्ध भएपछि हजारौँ यात्रु बाटामै अलपत्र परेका थिए भने आपूर्ति तथा यातायात सेवा समेत प्रभावित भएको थियो।
सडक डिभिजन कार्यालय र प्रहरीको पहलमा मंगलबार बिहानैदेखि सडक सफाइ कार्य सुरु गरिएको थियो। केही घण्टाको प्रयासपछि माटो र ढुंगाहरू हटाइएपछि साँझतिर राजमार्ग पुनः सञ्चालनमा आएको हो।
सडक पुनः सञ्चालनमा आएपछि सवारी साधन सहज रूपमा गुड्न थालेका छन्। तथापि, अझै पनि पहिरो जाने जोखिम कायम भएकाले यात्रु तथा चालकलाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।