नौ दिनको सेनाको सुरक्षा घेरापछि पूर्व प्रधानमन्त्री ओली निजी निवासमा फर्किए

राजनीतिक अस्थिरता र तीव्र आन्दोलनका बीच पदच्युत भएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः सेनाको निगरानी र सुरक्षाबाट बाहिरिएर आफ्नै निजी निवासमा फर्किएका छन्।

आन्दोलन चर्किएपछि सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ओलीलाई करिब नौ दिनसम्म सेनाको कडा निगरानीमा राखिएको थियो। यस अवधिमा उनीलाई सार्वजनिक गतिविधिबाट टाढा राखेर सुरक्षाकर्मीको निगरानीमा राखिएको थियो।

तर, हाल स्थिति केही सामान्य बन्दै गएको र आन्दोलनको तीव्रता केही कम भएको आकलन गर्दै उनलाई निजी घरमा फर्काइएको हो। ओलीलाई अझै पनि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको बताइए पनि अब सेनाको प्रत्यक्ष नियन्त्रणमा भने नराखिने निर्णय गरिएको छ।

पूर्व प्रधानमन्त्री ओलीको यस कदमलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। धेरै विश्लेषकहरूले यसलाई नेपालमा बढ्दो राजनीतिक अनिश्चितता र आगामी चुनावी वातावरणसँग जोडेर व्याख्या गरेका छन्।