अन्तरिम प्रधानमन्त्री सुषिला कार्कीले पदभार ग्रहण गरेको केही दिनमै नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। कार्की नेतृत्वको अन्तरिम सरकारले महत्वपूर्ण मन्त्रालयहरुमा प्राविधिक दक्षता र अनुभवका आधारमा नयाँ अनुहारहरुलाई जिम्मेवारी दिएको हो।
नयाँ मन्त्रिपरिषद् अनुसार, रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। खनाल यसअघि प्रमुख सचिव तथा अर्थ प्रशासनमा लामो अनुभव भएका व्यक्तित्व मानिन्छन्।
त्यस्तै, ओम प्रकाश आर्याललाई गृहमन्त्रालय तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। वकिल तथा मानवअधिकारकर्मी आर्यालले सुरक्षा व्यवस्थापनसँगै कानुनी सुधारमा अग्रसर हुने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रमा सफल नेतृत्व प्रदान गरिसकेका कुलमान घिसिङलाई यसपटक ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनका नियुक्तिलाई सार्वजनिकस्तरमा व्यापक समर्थन मिलिरहेको छ।
यसैगरी, सविता भण्डारीलाई देशको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त गरिएको छ। कानुनी क्षेत्रमा लामो अनुभव भएकी भण्डारीको नियुक्तिलाई ऐतिहासिक कदमका रूपमा लिइएको छ।
प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रिपरिषद् घोषणा गर्दै वर्तमान संकट समाधान, शान्ति स्थापना र आगामी निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन मन्त्रिपरिषद्ले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन्।