अमेरिकी संघीय अपील अदालत (९औं सर्किट) ले दिएको नयाँ आदेशले करिब ७,००० नेपाली प्रवासी प्रभावित हुने भएका छन्। अदालतले अस्थायी सुरक्षा दर्जा (Temporary Protected Status – TPS) अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई तत्काल लागू गर्न दिने आपतकालीन आदेश जारी गरेको हो।
यसअघि तल्लो अदालतले प्रवासीलाई संरक्षण दिने निर्णय गरेको थियो, तर नयाँ आदेशले सो निर्णयलाई उल्ट्याएको छ। यससँगै नेपालीसहित होन्डुरास र निकारागुवाका हजारौं प्रवासीहरू अब अमेरिकाबाट निष्कासन हुने जोखिममा परेका छन्।
सामाजिक अभियन्ता तथा प्रवासी अधिकारकर्मीहरूले यसलाई मानवीय अधिकारविरुद्धको कदम भन्दै आलोचना गरेका छन्। उनीहरूको भनाइमा, दशकौंदेखि अमेरिकामा बस्दै आएका नेपाली समुदाय अचानक देश निकाला हुने डरमा छन्, जसले पारिवारिक तथा आर्थिक संकट निम्त्याउनेछ।
अदालतले यस मामिलामा नोभेम्बर १८, २०२५ मा थप सुनुवाइ गर्ने जनाएको छ। त्यसअघि प्रभावित समुदायले आफ्नो पक्ष बलियो बनाउन कानूनी लडाइँलाई निरन्तरता दिने बताएका छन्।