गुगलले आफ्नो लोकप्रिय सेवा स्ट्रिट भ्यू अब नेपालमा पनि सुरु गरेको छ। सन् २०२५ अगस्ट १५ देखि नेपाल गुगल स्ट्रिट भ्यूको नक्सामा समावेश भएसँगै प्रयोगकर्ताहरूले काठमाडौंका गल्लीहरूदेखि हिमालयका मनमोहक दृश्यहरूलाई ३६०° भर्चुअल टुरमार्फत अनुभव गर्न पाउने भएका छन्।
यस सेवाले काठमाडौं उपत्यकाका प्रमुख सडक, पुराना बस्तीहरू, ऐतिहासिक दरबार स्क्वायरहरू, पर्यटकीय क्षेत्र, साथै हिमाली भू–भागलाई डिजिटल नक्सामा नयाँ आयाम दिएको छ। अब विदेशमा रहेका नेपाली वा नेपाल भ्रमण गर्ने तयारीमा रहेका पर्यटकले नेपालका सडक र गन्तव्यहरूलाई घरमै बस्दा सहजै अवलोकन गर्न सक्नेछन्।
पर्यटन व्यवसायीहरूले स्ट्रिट भ्यूलाई नेपालका लागि ठूलो अवसरका रूपमा लिएका छन्। उनीहरूको भनाइअनुसार यसले नेपालमा विदेशी पर्यटक आकर्षण बढाउने, होटल–रेस्टुरेन्टदेखि ट्राभल एजेन्सीसम्मको व्यवसायलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गुगलको यो पहललाई नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ, जसले नेपालको डिजिटल उपस्थिति अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।