नेपाल र साउदी अरबबीच श्रमिक आपूर्ति र सीप प्रमाणीकरणसम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको छ। जिनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सम्मेलनको अवसरमा दुई देशबीच यो समझदारी कायम गरिएको हो।
सम्झौता अनुसार, साउदी अरबले अब नेपाली सामान्य श्रमिकहरूका साथै दक्ष कामदारहरूको पनि औपचारिक रूपमा माग गर्न सक्नेछ। पहिलो सम्झौता ‘सामान्य तथा दक्ष श्रमिक आपूर्ति’ सम्बन्धी हो, जसले औपचारिक श्रमिक आपूर्ति प्रक्रियालाई सहज, पारदर्शी र सुरक्षित बनाउने लक्ष्य लिएको छ। दोस्रो सम्झौता ‘सीप प्रमाणीकरण प्रणाली’ सम्बन्धी हो, जसले नेपाली श्रमिकको दक्षतालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित गर्ने व्यवस्था मिलाउनेछ। यसले नेपाली कामदारको मूल्य र सम्मान दुबै बढाउने अपेक्षा गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यी सम्झौताहरूले साउदी अरबमा सुरक्षित र सम्मानजनक रोजगारीका अवसरहरू बढाउनेछन्। त्यस्तै, श्रमिक आपूर्तिमा हुने अव्यवस्था, बिचौलियाको भूमिका, र शोषणजन्य गतिविधिलाई कम गर्ने सरकारको प्रयासमा समेत यसले सहयोग पुर्याउनेछ।
हालसम्म साउदी अरबमा नेपाली श्रमिकहरू मुख्यतः निर्माण, घरायसी काम, र सेवा क्षेत्रमा कार्यरत छन्। यद्यपि, घरेलु श्रमिक (घरायसी कामदार) सम्बन्धी सहमति भने अझैसम्म टुंगोमा पुगेको छैन। यस विषयमा दुबै देशबीच छलफल जारी छ। नेपाल सरकारले घरेलु श्रमिकका लागि न्यूनतम पारिश्रमिक, कामको समय, बिमा, अवकाश तथा अन्य सुरक्षासम्बन्धी प्रावधान सुनिश्चित गर्न चाहेको जनाएको छ।
यो समझदारीले दीर्घकालीन रुपमा दुवै मुलुकको श्रम सम्बन्ध सुधार गर्ने मात्र होइन, नेपाली श्रमिकका लागि थप सुरक्षित, मर्यादित र अधिकारसम्पन्न वातावरण सुनिश्चित गर्नेतर्फको कदम भएको विज्ञहरूले बताएका छन्।