“जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” भन्ने मूल नारासहित सगरमाथा संवाद २०२५ काठमाडौंमा सम्पन्न भएको छ। तीनदिने उक्त अन्तर्राष्ट्रिय कार्यक्रमले विश्वभरका ५० भन्दा बढी देशका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएको थियो, जहाँ जलवायु संकट, हिमाली पारिस्थितिकी प्रणालीको संरक्षण, र मानव अस्तित्वसँग यसको सम्बन्धबारे गहन छलफल भयो।
संवादमा वातावरणविद्, नीति निर्माताहरू, वैज्ञानिकहरू, र हिमाली देशका सरकारी अधिकारीहरूले सहभागिता जनाउँदै जलवायु परिवर्तनको प्रतिकूल असरबाट हिमाल क्षेत्र कसरी प्रभावित भइरहेको छ भन्ने विषयमा विचार आदानप्रदान गरे।
कार्यक्रमको उद्देश्य जलवायु परिवर्तनविरुद्ध साझा रणनीति तय गर्नु र अन्तर्राष्ट्रिय सहयोगलाई थप सुदृढ गर्नु थियो। सहभागिहरूले सगरमाथाजस्तो संवेदनशील क्षेत्रको संरक्षणका लागि तुरुन्त कार्यान्वयन गर्नुपर्ने उपायहरूमा जोड दिएका थिए।
नेपाल सरकारले आयोजना गरेको यो संवादले जलवायु न्याय, दिगो विकास, र हिमाल संरक्षणमा अन्तर्राष्ट्रिय चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।