भारतको आक्रमणमा पाकिस्तानमा सात जनाको मृत्यु भएको छ ।
भारतले मङ्गलबार राति गरेको हवाई (क्षेप्यास्त्र) आक्रमणबाट दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन् ।
‘पाकिस्तानलाई यो भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ,’ उनले भनेका छन्, ‘सम्पूर्ण राष्ट्र आफ्नो सेनासँग एकताबद्ध छ । हाम्रो मनोबल र सङ्कल्प अटल छ । हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ ।’
पाकिस्तानका जनता र सेना कुनै पनि खतराको सामना गर्न र शत्रुलाई पराजित गर्न पूर्ण रूपमा तयार रहेको प्रधानमन्त्री शरिफले बताएका छन् ।
‘शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिइने छैन,’ उनले भनेको बीबीसीको समाचारमा उल्लेख छ ।
भारतले यो कारबाही अप्रिल २२ (वैशाख ९)मा कश्मीरमा भएको आक्रमणपछि गरेको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । त्यहाँ एक नेपाली पनि परेका थिए ।
भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।