भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा बुधवार बिहान सबेरै एउटा घाटमा घातक भागदौड भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने मानिसका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उक्त घटनामा मानिसहरूको मृत्यु भएको पहिलो पटक पुष्टि गरेका हुन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुम्भमेलामा भागदौड मच्चिएको पुष्टि गर्दै केही मानिस गम्भीर घाइते भएको बताएका थिए। तर उनले मृतकहरूका बारेमा केही बोलेका थिएनन्। अरू अधिकारीले पनि घटनामा मानिसहरूको मृत्यु भए नभएको विषयमा कुनै औपचारिक जानकारी दिएको थिएनन्।
बिहान प्रयागराजका एक स्वास्थ्यकर्मीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई उक्त घटनामा कम्तीमा एक दर्जन मानिसको ज्यान गएको हुन सक्ने बताएका थिए। प्रत्यक्षदर्शीहरूले पनि बीबीसीलाई समान जानकारी दिएका थिए।
“प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ। यसमा आफ्ना प्रियजन गुमाउने श्रद्दालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु,” सामाजिक सञ्जाल ‘एक्स’मा प्रधानमन्त्री मोदीले लेखेका छन्।
उनले आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र बिहान भएको घटनाका विषयमा योगी आदित्यनाथसँग कुरा गरेको जानकारी दिएका छन्।