ओपनएआईले निर्माण गरेको च्याटजीपीटीमा सर्च इन्जिनको फिचर थपिएको छ। सोमबार रातिदेखि कम्पनीले यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो।
यसअघि च्याटजीपीटीले तालिम पाएको डेटासम्मका जानकारीका आधारमा मात्र जवाफ दिन्थ्यो। अक्टोबरमा कम्पनीले च्याटजीपीटीको भर्सन 4o मा इन्टरनेट सर्चको सुविधा थपेको थियो, जसमा निःशुल्क प्रयोगकर्ताले केही सीमित प्रम्प्टमा यो फिचर प्रयोग गर्न सक्थे भने प्रिमियम सदस्यहरूले पूर्ण पहुँच पाउँथे।
तर अहिले यो फिचर थप परिमार्जन गर्दै च्याटबक्समै सर्च इन्जिनको सुविधा उपलब्ध गराइएको छ। प्रयोगकर्ताले च्याटजीपीटीको एप अपडेट गरेपछि वा ब्राउजरमार्फत च्याटजीपीटीमा गएर तलपट्टि इन्टरनेटको आइकन देख्न सक्छन्।
यदि प्रयोगकर्ताले च्याटजीपीटीले इन्टरनेटबाट कुनै जानकारी खोजेर उपलब्ध गराओस् भने, पहिला यो सर्च फिचर इनेबल गर्नुपर्ने हुन्छ। त्यसपछि सोधिएका प्रश्नका आधारमा च्याटजीपीटीले इन्टरनेटमा खोजेर उपयुक्त सामग्री वा लिङ्क उपलब्ध गराउँछ। यो फिचर प्रयोग गर्नका लागि अकाउन्ट लगइन गर्न आवश्यक छैन। एप खोल्ने वा ब्राउजरमा गएर सर्च अप्सन छानेपछि सोधिएका प्रश्नको जवाफ सजिलै पाउन सकिन्छ।
गुगल सर्चजस्तै च्याटजीपीटीले पनि जानकारीको खोजीमा उपयुक्त लिङ्कहरू देखाउन सुरु गरेको छ। तर, यसले कहिलेकाहीँ प्रयोगकर्तालाई चाहिएको लिङ्कभन्दा पुराना सामग्रीहरू देखाइरहेको भन्ने गुनासो सामाजिक सञ्जालमा भइरहेको छ। विशेषगरी, “आजका शीर्ष समाचार” सोध्दा पुराना समाचारको लिङ्क दिने समस्या देखिएको छ। यद्यपि, कम्पनीले सुरुवाती चरणका कमजोरीहरू क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।