नेपालमा लागूऔषध तस्करीको बढ्दो संकट: २१% कैदी लागूपदार्थ अभियोगमा थुनिएका

नेपाल प्रहरीले लागूऔषध नियन्त्रणमा प्रगति भएको दाबी गरिरहे पनि, तथ्यांकले अर्कै वास्तविकता उजागर गरेको छ। पछिल्लो तथ्यांकअनुसार, मुलुकभरका जेलमा रहेका कूल २९,०१२ कैदीमध्ये ६,१२६ जना अर्थात् करिब २१.११ प्रतिशत व्यक्ति केवल लागूऔषध तस्करी तथा ओसारपसारका अभियोगमा कैद जीवन बिताइरहेका छन्।

विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा लागूऔषध सेवन र कारोबार दुबै तीव्र गतिमा बढेको देखिएको छ। नेपाल-भारत खुला सीमा, कमजोर निगरानी र उच्च मागका कारण यो समस्या जटिल रूप लिँदै गएको छ। सुरक्षा निकायले बारम्बार “कडा निगरानी र नियन्त्रण अभियान चलाइरहेका छौँ” भनी सार्वजनिक अभिव्यक्ति दिने गरे पनि, जेलमा कैदिको चौथाई हिस्सा लागूपदार्थ अभियोगमै थुनिनु समस्याको जरो अझ गहिरो रहेको संकेत हो।

काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज र धरान जस्ता मुख्य सहरहरू लागूपदार्थ कारोबारीको सक्रिय केन्द्र बनेको आरोप छ। युवावर्गमा लत र बेरोजगारी, सीमावर्ती नाकामा चेकजाँचको कमजोरी, र अन्तर्राष्ट्रिय गिरोहसँगको संलग्नताले यो चुनौतीलाई थप जटिल बनाएको सुरक्षा विशेषज्ञहरूले बताउँछन्।

न्याय र कारागार प्रशासनका अनुसार, कैदी संख्याको यो अनुपातले लागूऔषध नियन्त्रण नीतिमा पुनरावलोकन र समन्वयको आवश्यकताऔंल्याएको छ।
यता प्रहरी प्रवक्ता भन्छन्—“हामीले नियन्त्रणका लागि अपरेसनलाई निरन्तर सशक्त बनाएका छौं, तर अन्तर्राष्ट्रिय तस्करहरूको नेटवर्क अत्यन्त सक्रिय छन्, यसमा समाजकै जागरूकता र सहकार्य आवश्यक छ।”

वर्तमान अवस्था हेर्दा लागूपदार्थ अपराधले केवल स्वास्थ्य र कानुनी संकटमात्र होइन, सामाजिक र आर्थिक अस्थिरताको खतरा समेत निम्त्याइरहेको छ।